प्रतिबन्धित र भन्सार छलीका सामान विक्री गर्ने कोहलपुरका तीन वटा व्यवसायीलाई कारबाही

असोज २६ कोहलपुर । दसैं(तिहार नजिकिएसँगै बजार अनुगमनलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका बाँकेले तिव्रता दिएको छ । जिल्लाको दोस्रो ठूलो सहर कोहलपुरमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका, नेपालमा प्रतिबन्धित र भन्सार छलीका सामान विक्री गर्ने व्यवसायीलाई कारवाही गरिएको छ ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका निमित्त प्रमुख विष्णुप्रसाद धितालले म्याद गुज्रिएका, नेपालमा प्रतिबन्धित र भन्सार छलीका सामान विक्री गर्ने तीन वटा व्यवसायीलाई जरिवानासहित कारबाही गरिएको बताए ।
कारबाहीमा पर्ने कोहलपुर नगरपालिका ११ सुर्खेतरोडस्थित विशाल एण्ड विवश जनरल स्टोर, गण्डकी जनरल स्टोर्स एण्ड अर्डर सप्लायर्स र न्यू गण्डकी डिपार्टमेन्टल स्टोर रहेको धितालले बताए ।

कार्यालयले विशाल एण्ड विवश जनरल स्टोरमा म्याद गुज्रिएका, नेपालमा प्रतिबन्धित तथा विशेषगरी खाद्यान्न, पेय पदार्थको म्याद गुज्रिएको र भन्सार छली गरेको पाइएको एवं प्रतिबन्धित सुर्तीजन्य पदार्थ पनि फेला परेको जनाएको छ ।
यसैगरी गण्डकी जनरल स्टोर्स एण्ड अर्डर सप्लायर्स र न्यू गण्डकी डिपार्टमेन्टल स्टोरमा म्याद गुज्रिएका करिब १२ हजार रुपियाँ बराबरको सामान नष्ट गरिनुका साथै  (१० हजारगरी २० हजार रुपियाँ जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख धितालले बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय र इलाका प्रशासन कार्यालय कोहलपुरसहितको संयुक्त अनुगमन टोलीले कोहलपुर बजारमा अनुगमनलाई हाल तिव्र पारेको छ । उपभोक्ता हित सरंक्षण मञ्च बाँकेका प्रभातसिंह ठकुरीले चाडपर्व आएका बेला बजार मूल्यमा एकरुपता नहुने, अखाद्य खुला रुपमा विक्री गर्ने, प्रतिवन्धित सामान पनि ल्याउने तथा म्याद गुज्रिएका स्वास्थ्यका लागि अति नै हानिकारक खाने सामान विक्री हुनेगरेको पाइएकाले नेपालगन्ज र कोहलपुरमा अनुगमनलाई निरन्तर जारी राख्नु पर्ने माग गरे ।