मिथिलाञ्चलमा जितिया पर्वको रौनक

१८ असोज,जनकपुरधाम । पुत्रप्राप्ति सन्तानको दीर्घजीवन तथा पारिवारिक सुखशान्तिको कामना गर्दै मिथिलाञ्चलमा जितिया पर्व मनाउन लागिएको हो। जितिया पर्व मनाउन जनकपुरधामस्थित पवित्र तलाउमा श्रद्धालुको घुइँचो लागेको छ । जितिया पर्व महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै शुरु भएको हो । व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र पितृलाई चिउरा, दही र अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रूपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्छन्। त्यसैगरी शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने छन्।