१५ असोज, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यूनिकरणकालागी आज (सोमबार) बिहान ८ बजेदेखी टाइम कार्ड प्रणाली लागु भएको छ । बाँकेको ओभरीदेखी जिरो प्वाइन्ट (खैरी चेक पोष्ट) सम्म टाइम कार्ड लागु गरिने बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत अर्जुन भुषालले पहिलो चरणमा ओभरीदेखी जिरो प्वाइन्टसम्मको १५ किलोमिटर क्षेत्रमा टाइम कार्ड लागु गरीएको बताए । मानवीय, भौतिक र वन्यजन्तुको क्षति जोगाउन निकुञ्जको कानुनअनुसार टाइम कार्ड लगाउन कुनै पनि बाधा नभएको र टाइम कार्ड लागु भएपछि अब उक्त दुरी २३ देखी २८ मिनेटमा पार गर्नुपर्ने भएको छ । निमित्त संरक्षण अधिकृत भुषालका अनुसार टाइम कार्ड लागु भएको क्षेत्रमा गाडी रोक्न पाईने छैन ।
निकुञ्ज क्षेत्रमा स्पाई क्यामराको मद्धतले सवारीसाधनको गति मापन गरी हरेक दिन नियम उलंघन गर्ने १५÷१६ जनालाई कारबाही गर्दै आएको बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको अर्जुन बाण गणका गणपती अशोक खड्काले जानकारी दिए । निकुञ्जभित्रका राजमार्गमा टाइम कार्ड लागु गर्नु अनिवार्य रहेको बताए । टाइम कार्ड लागु भएपछि निकुञ्ज क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनिकरण हुने र नियम पालना गर्न÷गराउन सबैलाई आग्रह समेत गरेका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएस्पी तिवारीले यसअघि निकुञ्जमा हुने सवारी दुर्घटना रोक्न सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्य रूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि रिफ्लेक्टर ट्याङगल राख्ने, निकुञ्जभित्र बिग्रेको सवारी साधन मर्मतको लागि एक घण्टा भन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारीलाई निकुञ्ज भन्दा बाहिर ल्याएर राख्ने बताए । बाँकेको ओभरीदेखि खैरीखोलासम्म करिब १५ किलोमिटर क्षेत्रमा लागु हुने टाइम कार्ड अनुसार उक्त दुरी २८ मिनेटमा पार गर्नुपर्ने छ । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न पनि निकुञ्ज प्रशासनले जनाएको छ ।
कोहलपुर खबर । १५ आश्विन २०८०, सोमबार १४:४५