भासिएको पुलबाट जोखिम मोलेर भेरी नदी वारपार गर्न स्थानिय बाध्य

२० भदौ,सल्यान । जाजरकोट र सल्यानको सिमानामा पर्ने छेडागाडनजिकै भेरी नदीस्थित झोलुंगे पुल भासिएको एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन ।

गत वर्ष अविरल वर्षाका कारण पिलर भासिएपछि झोलुंगे पुलको बीच भागले भेरी नदी छोए पनि अर्को विकल्प नभएपछि बन्गाडकुपिण्डे नगरपालिका–२ बाँमेका बाउनडाँडा, पारिल्ला, चैते, कुरिल्लेल गायत जाजरकोटका झन्डै ३ सय परिवार जोखिम मोलेर पुलबाट स्थानीय हिँड्न बाध्य छन ।

स्थानीयलाई पालिकाको मुख्य बजार सल्लीबजार, जाजरकोटको शिवालय गाउँपालिकास्थित छेडाबजार जान पनि समस्या भएको स्थानीय गोपीलाल आचार्यले जानकारी दिए। पिलर भासिएका कारण दैनिक उपभोग्य वस्तु तथा गाउँमा उत्पादन भएको कृषिजन्य उत्पादन पनि ओसारपसार गर्नसमेत समस्या हुने गरेको उनको भनाइ छ। २०७२ सालमा बिबिएलएल नामक संस्थाले १ सय ५७ मिटर लम्बाइको झोलुंगे पुल निर्माण गरेको थियो । भासिएको पुल पुन निर्माण गर्न कसैको पनि ध्यान नदिएको स्थानीयको भनाइ छ।