खोलाले बगाउँदा दाजुबहिनीको ज्यान गयो


१८ भदौ,रुकुम पश्चिम । विद्यालयबाट घर फर्किने क्रममा रुकुम पश्चिमको चौरजहारीमा खोलाले बगाउँदा दाजुबहिनीको ज्यान गएको छ । आइतवार दिउँसो नाउलाखोलामा आएको बाढीले बगाउँदा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको ज्यान गएको हो । मनोज आधारभूत विद्यालय घर्तीकाँडाको कक्षा ३ मा र भावना कक्षा १ मा पढ्थिन् । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले मनोजको शव १ सय ५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको जानकारी दिनुभयो ।