फागुन, १४ जनकपुरधाम / धनुषामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा सबैला नगरपालिका अमरखाना बस्ने चन्देश्वर यादवका २३ वर्षीय छोरा अजयकुमार यादव रहेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए।
प्रवक्ता गौतमका अनुसार विपरीत दिशाबाट आइरहेको एउटा मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा युवकको घटनास्थलमै मृत्यु भएको हो।
सबैला नगरपालिका-९ कुशमाहा सतोषर र गेरुवाहिको बीचमा रहेको परिक्रमा सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
दुर्घटनामा परी एकजनाको खुट्टा पूर्णरूपमा फ्र्याक्चर भएको हो।
उक्त दुर्घटनामा सबैला नगरपालिका-७ चौरियामटही बस्ने जितु ठाकुर बरही र सोही नगरपालिका वडा नम्बर ५ मखनाहा बस्ने २२ वर्षीय सुरज मण्डलको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दियो।
दुर्घटनामा घाइते भएका सबैला-१० बस्ने २५ वर्षीय मनोज यादव र २४ वर्षीय रवीन्द्र मण्डलको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतमले बताए।
कोहलपुर खबर । १४ फाल्गुन २०७९, आईतवार १३:४१