डोल्पाका किसानहरु बिक्री नहुने डरले बेच्छन् काँचै स्याउ

९ भदौ,जाजरकोट । डोल्पाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाको गाउँबस्ती अहिले बोटमा राम्रोसँग नपाक्दै ५० प्रतिशत स्याउ बिक्री गरिसकेको कृषि विकास कार्यालय डोल्पाले जनाएको छ। त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सुँ, जिउँ, वडा नम्बर ४ को रङ्गमा कृषकले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन्।

त्यस्तै वडा नम्बर ७ मा पर्ने जुफाल, ८ र ९ मा पर्ने डाँगीबाडा वडा नम्बर ४, ५ र ११ मा पर्ने लोचा, थाला, तिप्ला र रह गाउँमा प्रशस्त स्याउ उत्पादन हुने गरेको छ। प्रत्येक वर्ष कृषकले उत्पादन गरे जतिको सबै स्याउ बिक्री नहुने भएकाले काँचै स्याउ बिचौलिया व्यापारीलाई प्रतिकिलो २० देखि ३० रुपैयाँमा बेच्न बाध्य भएको कार्यालयको भनाइ छ। जिल्लामा स्याउको राजधानीको रूपमा परिचित रङ्ग गाउँमा ‘एक घर, एक स्याउ बगैँचा’ छ।

प्रत्येक वर्ष एउटै घरमा न्यूनतम दश क्विन्टलसम्म स्याउ फल्ने गरे पनि व्यापारीले सबै खरिद नगर्ने कृषकको गुनासो छ। स्याउ बगानमा तीन वर्षयतादेखि नेपालगञ्ज, सुर्खेत, जाजरकोट, रुकुमलगायत जिल्लाबाट स्याउ किन्न व्यापारी घरमै पुग्ने गरेका छन्। नपाक्दै बोटमै व्यापारी आइपुग्ने रङ्गका कृषक तारा बुढाले बताए। बजार अभाव, सडकको असुविधा, ढुवानी समस्यालगायत समस्याका कारण नपाक्दै सस्तो मूल्यमा व्यापारीलाई जिम्मा लगाउन बाध्य हुने स्थानीय स्याउ कृषक हरि बुढाले जानकारी दिए।