भाद्व ५ रुकुम । जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर २ पहाडास्थित लालझाडि सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ३१ वर्षिय भद्रबहादुर थापालाई डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको हो । सामुदायिक वनको आर्थिक रकम हिनामिना गरेको तथा प्रमाण नष्ट गरेको आरोपमा थापालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त डिभिजन प्रमुख शेरबहादुर परियारले बताउनुभयो ।
आठविसकोट नगरपालिकाको तल्लुबगरबाट नेपाल प्रहरीको सहयोगमा थापालाई पक्राउ गरेर सोमबार जिल्ला सदरमुकाम ल्याईएको हो । थापाले सामुदायिक वनको रकम हिनामिना गर्नुका साथै सामुदायिक वनको आयव्ययको रसिद जलाएको भिडियोको आधारमा पक्राउ गरिएको निमित्त डिभिजन प्रमुख परियारले जानकारी दिनुभयो ।
थापा बिरुद्ध अनुसन्धानको लागि मंगलबार रुकुम जिल्ला अदालतबाट १२ दिनको अनुमति समेत लिईएको छ । पक्राउ परेका थापालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र अनुसन्धान अगाडि बढाईएको बताईएको छ ।
डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख परियारले वन ऐन, २०७६ दफा ४९ अनुसार थापा विरुद्ध कारबाहिको प्रक्रिया अगाडि बढाईने बताउनुभयो ।
कोहलपुर खबर । ५ भाद्र २०८०, मंगलवार २१:५८