४ साउन,रोल्पा । आर्थिक वर्ष २०८०÷८१ को गाउँसभाले रोल्पाको त्रिवेणी गाउँपालिकामा छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ ।
गाउँसभाले यही साउन १ गतेदेखि लागू हुने गरी कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए।
“छोरी जन्मिदा परिवारमा खुशियाली ल्याउन तथा छोरीमा लगानी बढाउन यस्तो कार्यक्रम अघि सारेका हौँ”, उपाध्यक्ष डाँगीले भने। छोरीलाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले उम्दा बनाउका लागि उक्त कार्यक्रम अघि बढाएको उनको भनाइ छ।
कार्यक्रमबाट बालविवाह रोक्नसमेत मद्दत पुग्ने डाँगीको विश्वास छ। उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा रु १० लाख विनियोजन गरेको छ। गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारसँगको साझेदारीमा उक्त कार्यक्रम गर्ने प्रस्ताव गरेको छ।यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ। बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन।
कोहलपुर खबर । ४ श्रावण २०८०, बिहीबार ११:३७