शिक्षकको हत्या आरोपमा पक्राउ परेका दम्पतीलाई जन्मकैद फैसला

१९ असार, बैतडी । सुर्नया गाउँपालिका–२ घर भइ श्रीकृष्ण माविमा कार्यरत ५५ वर्षीय शिक्षकको हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या घटनामा एक दम्पतीको संलग्नता पुष्टि गर्दैे जन्मदकैदको फैसला सुनाएको छ ।

शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरालाई जन्मकैद र उनकी २२ वर्षीया श्रीमती विमलालाई ६ वर्ष कैदको फैसला सुनाइएको हो।

सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक गत पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृतावस्थामा भेटिएका थिए। शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले पुस ७ गते पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको थियो।

दुवैजनाविरुद्ध बैतडी जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा दुई पटक म्याद थपेर अनुसन्धान गरिएको थियो। विष्टको मृत्यु भएपश्चात् शवलाई प्रजा र विमलाले केत्तुकेको झारीमा फालेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गरिरहेकी विमला छात्रावासमा बस्दै आएकी थिइन्। उनका श्रीमान् पनि भेटघाटका लागि पाटन पुगेर छात्रावासमै बसेका थिए।

छात्रावासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी विमलालाई अँगालो हाली दुर्व्यवहार गरेको प्रजाले देखेको र त्यसपछि आक्रोशित भएका उनले विष्टको छाती, मुखमा हिर्काउँदै छात्रावास बाहिर ल्याई थप कुटपिट गरी हत्या गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका थिए।

बैतडी जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले प्रजालाई २५ वर्षका लागि जन्मकैद र उनकी श्रीमती विमलालाई ६ वर्ष कैद सजाय सुनाएको हो।