जुम्लामा देखियो लम्पी स्किन रोग

१८ असार,जुम्ला । जुम्लामा पनि गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ ।

लम्पी स्किन रोगको सङ्क्रमणबाट लिही गाउँका करिब ३० वटा गाईगोरु मरिसकेका छन् । तिला गाउँपालिका–२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिए ।

तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले पालिकाका केही वडामा लम्पी स्किन रोगबाट गाईगोरु मरेको जानकारी आएको भन्दै रोगबाट बढी प्रभावित क्षेत्रलाई प्रथामिकतामा राखिएको बताए । रोगलाई नियन्त्रण गर्नेका लागि गाउँपालिकालाई आवश्यक औषधि उपचारको व्यवस्थापनका लागि अनुरोध गरिएको नेपालीको भनाइ छ ।

उनले ती क्षेत्रमा तत्कालका लागि पशु सेवा कार्यालय जुम्लाको सहकार्यमा औषधि ल्याई पशु प्रविधिकलाई स्थलगतरुपमा खटाई उपचार सुरु गरिएको बताए ।