ढकेरीका महिलाहरुलाई पञ्चेबाजा बजाउने तालिम प्रदान

१३ असार, कोहलपुर । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीका महिलाहरुलाई १५ दिने पञ्चेबाजा बजाउन सिकाउने तालिम सम्पन्न भएको छ ।

राप्ती सोनारी गाँउपालीका वडा नम्बर ९ को कार्यालयको आर्थिक सहयोग र कला संस्कृति तथा पन्चैबाजा संरक्षण समितिको आयोजनामा महिलाहरुका लागि १५ दिने पञ्चेबाजा बजाउन सिकाउने तालिम बुधबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।  जेष्ठ ३० गते देखि सुरु भएको तालिमको बुधबार (आज) समापन गरीएको हो ।

तालिम पाएपछि थारु, क्षेत्री तथा दलित समुदायका सात जना महिला पञ्चेबाजा बजाउन सक्ने भएको समितिका प्रबन्ध निर्देशक कविन्द्र परियारले बताए । समापन कार्यक्रममा बोल्दै समितिका प्रबन्ध निर्देशक परियारले दलित समुदायको पुख्र्याैली पेसा संरक्षणका लागि महिलाहरुको टिम तयार भएको बताए । हामी संस्कृति संरक्षणमा जुटेका छौं, आगामी दिनमा संस्कृति संरक्षणका लागि समाजिक कार्यसमेत गर्नेछौं, उनले भने । पञ्चेबाजा बजाउनको लागि सुर्खेत गुर्भाकोटका थल बहादुर परियारले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा संस्थागत विकासमा योगदान गर्ने दुई जनालाई सम्मान गरिएको थियो । समितिले शिक्षक तथा समाजसेवी सागरदत्त गौतमलाई दोसल्ला, सम्मानपत्रसहित सम्मान गरीएको थियो भने प्रशिक्षक परियारलाई पनि कदरपत्र द्धारा सम्मान गरिएको थियो ।

कला संस्कृति तथा पन्चैबाजा संरक्षण समितिको व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले पनि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी नमुनाको पहलमा समितिको स्तरोन्नति तथा विकासका लागि पाँच लाख रुपैयाँ विनियोजित गरिएको परियारले बताए । कला संस्कृति तथा पन्चैबाजा संरक्षण समिति स्वर्गीय मोतिलाल परियारको अगुवाईमा स्थापना भएको थियो ।