मन्त्री सिंह दम्पतीको आज अन्त्येष्टि

९ असार, धनगढि । जीप दुर्घटना परी ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवीको अन्त्येष्टि शनिबार(आज) गरिदैछ।

बुधबार जिल्ला अस्पतालमा राखिएको मन्त्री सिंह दम्पतीको पार्थिव शरीर शनिबार जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराई ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर मसान घाटमा अन्त्येष्टि गरिने भएको हो ।

डडेल्धुराबाट गृहजिल्ला बझाङ आउने क्रममा मन्त्री सिंह सवार सुपप्र ०१ ००१ झ ४८० नम्बरको जीप मंगलबार दिउँसो साढे १ बजे केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।  मंगलबार मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परी मृत्यु भएको थियो ।

मन्त्री सिंहका गाडी चालक धर्मराज जोशी र मन्त्रीका पीएसओ प्रहरी सहायक हवल्दार दिपक भण्डारीलाई थप उपचारका लागि कोहलपुरबाट काठमाडौं लगिएको छ।