८ असार, कोहलपुर । नेपाली कांग्रेस बाँकेले जनसरोकारका बिभिन्न विषयहरुमा जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेस बाँकेले प्रमुख जिल्ला अधिकारी विपिन आचार्यलाई जनसरोकारका सवालहरु समेटेर आज ज्ञापनपत्र बुझाएको हो । पार्टीका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा मल र बीउको अभाव, चर्को महंगी, कालोबजारी, असारे विकास, विपत पूर्व तयारी, अनियमित विद्युत लगायतका विषयहरु समेटेर ज्ञापनपत्र बुझाइएको कार्यबहाक सभापति अधिकारीले बताए ।
ज्ञापनपत्रमा किसानलाई समयमै मल र बीउ उपलब्ध गराउनुपर्ने, विपत (बाढीपहिरो) नियन्त्रण गर्न प्रभावकारी पूर्व तयारी गर्नुपर्ने, देश चरम आर्थिक मन्दीको चपेटामा गुज्रिरहेको समयमा उपभोग्य बस्तुको मूल्य नियन्त्रणका साथै कालोबजारी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गर्नुपर्ने, राज्यका विभिन्न निकायबाट हुने विकास निर्माणका कार्यहरु असारे विकासका नाममा गुणस्तरहिन हुने हुँदा प्रभावकारी अनुगमनका साथै गुणस्तर परीक्षण गर्नुपर्ने र अनियमित विद्युतका कारण जनताको दैनिकीमा समेत प्रभाव परिरहेको हुँदा नियमित विद्युत उपलब्ध गराउन तत्काल प्रभावकारी कदम चाल्नुपर्ने लगाएतका बुँदाहरु समेटिएका छन् ।
प्रमुख जिल्ला अधिकारी आचार्यले कांग्रेसले समयसान्दर्भिक सवालहरुको उठान गरेको भन्दै समाधानार्थ उचित पहल गरीने बताए । उनले यी समस्याहरुमा सम्बन्धित पक्षसंग समन्वय गरी समाधानका लागि निरन्तर प्रयास गरिरहेको पनि उल्लेख गरे ।
कोहलपुर खबर । ८ असार २०८०, शुक्रबार १५:१०