१६ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले भोलि (शुक्रबार) बाट हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगले सञ्चालन गर्न सबै स्थानीय तहलाई आवश्यक सहयोग तथा समन्वय गर्न आग्रह गरेको छ ।
बोर्डले सार्वजनिक सूचना जारी गरी परीक्षा अवधि र परीक्षा पछि पनि व्यवस्थापनमा आवश्यक सहयोग गर्न आग्रह गरेको हो ।
परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहने भएकाले यस्तो आग्रह गरिएको परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । कक्षा-१२ को परीक्षामा पनि आवश्यक समन्वय गर्नुपर्ने उनले आग्रह गरे ।
उनले एसइईलाई स्वच्छ, व्यवस्थित, मर्यादित एवं शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्नरगराउन परीक्षा सञ्चालन पूर्व, परीक्षा अवधि र परीक्षा सञ्चालन पछिका व्यवस्थापनमा आवश्यक तयारी बोर्ड, सम्बन्धित प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिलाई भइसकेको बताए ।
‘महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका अन्तर्गत रहेका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहने हुँदा सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गरी त्यहाँबाट आवश्यक समन्वय र सहयोग हुन अनुरोध छ’‚ पत्रमा भनिएको छ ।
परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा चैत २९ गतेसम्म हुने सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।
कोहलपुर खबर । १६ चैत्र २०७९, बिहीबार १३:३४