गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा : सर्वोच्चमा आज पनि सुनुवाइ

माघ, १३ काठमाडौं / गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा शुक्रबार पनि सुनुवाइ हुँदैछ ।

यसअघि यो मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो। लामिछाने र सरकारी वकिलको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो  ।

रविराज बसौला र युवराज पौडेलले लामिछाने सांसद् हुन समेत अयोग्य रहेको भन्दै उनलाई काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट हालेका थिए ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ गरेका थिए । पूरा नभएका कारण सुनुवाइ शुक्रबारका लागि सारिएको हो ।

अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनस् पुरानै नेपाली नागरिकताको प्रयोग गरेको आरोप लामिछानेलाई लगाइएको छ ।

अमेरिकाको नागरिकता र राहदानी प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको रिटमा उल्लेख छ ।

लामिछाने मंसिर ४ गते सम्पन्न चितवन–२ मा प्रतिनिधिसभा निर्वाचित भएका थिए । गत पुस ११ गठित मन्त्रिमण्डलमा उनलाई उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।