१७ असार, कोहलपुर । कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिताको बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम आईतबार सम्पन्न भएको छ ।
कोहलपुर नगरपालिकाको सहयोग र कोहलपुर जेसिसको सहजिकरणमा आईतबार भएको सार्वजनिक सुनुवाई तेस्रो सार्वजनिक सुनुवाई हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा कोहलपुर नगरपालिकाका का प्रमुख पुर्ण प्रसाद आचार्य, उप-प्रमुख संगिता सुवेदी र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालको नागरिकहरुका आफनो गुनासो, प्रतिक्रिया र सुझावहरुको जवाफदेहितामा उपस्तिथि थियो ।
कार्यक्रममा खुल्ला छलफल गर्दै नगरपालिकाले प्रवाह गर्ने सेवा सुविधा, उद्यमशील सिपमुलुक तालिम, आकाशे पुलको निर्माण,लागुऔषध दुर्व्यसनी शिक्षा, स्वास्थ, भौतिक पुर्बाधार र रोजगारि, ट्राफिक लाईट जडान लगायतका विषयमा सेवाग्राहीले प्रश्न राखेका थिए । उठेका प्रश्नको नगर प्रमुख, नगर उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडा नं. २ का अध्यक्ष हरी कठायतले जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरूको सम्बोधन गर्दै नगर प्रमुखले विशेष गरी नगरपालिकालाई जवाफदेहिता, पारदर्शितासँगै शुशासनयुक्त नगर कायम राख्ने प्रतिबद्वता जनाएका हुन् । प्रमुख आचार्यले नगरलाई हरित, स्वच्छ र सुन्दर नगर बनाउन नगरपालिकाको मात्रै दाईत्व नभई समग्र कोहलपुर बासीको रहेको भन्दै सबैलाई हातेमालो गरी नगरले गर्ने कार्यमा सहयोग गर्न पनि अग्रह गरे । उनले सामाजिक सन्जालमा बादबिबाद गर्नु भन्दा यस्ता सार्बजनिक सुनुवाई कार्यक्रममा आफ्ना गुनासो र प्रश्न राख्न अनुरोध गरे ।
कोहलपुर नगरपालिकाको आयोजना एवम् कोहलपुर जेसिजको सहजिकरणमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, व्यवसायी, स्थानिय जनता, विद्यार्थी, समाजसेवी लगाएतको उपस्तिथि रहेको थियो ।
कोहलपुर खबर । १७ असार २०८०, आईतवार २२:२१