चाडपर्व सुरु भएसँगै दुर्घटना बढ्यो, यान्त्रिक परीक्षण प्रभावहीन

१८ असोज, काठमाण्डौ /  चाडपर्व सुरु भएसँगै दुर्घटना बढेका छन् । चाडपर्वको समयमा यात्रुको आवतजावत धेरै हुने गरेकाले यही मौका छोपेर व्यवसायीले कमाउने राम्रो सिजनको रुपमा लिने गरेकाले चाडबाडको समयमा दुर्घटनाका घटना धेरै हुने गरेका ट्राफिक प्रहरीले जनाएको छ ।

गाडी दुर्घटना हुनुमा अरु पनि धेरै कारण छन् । क्षमताभन्दा धेरै यात्रु बोक्दा, उच्च गतिमा गाडी चलाउँदा, लामो दूरीमा पनि एउटै चालकले गाडी चलाउँदा दुर्घटनाको जोखिम हुन्छ । यस्तै, सडकको जीर्ण अवस्था, पहिरो खस्ने, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता कारण पनि दुर्घटना हुने गरेको छ । सरकारले हरेक वर्ष चालक र सहचालकलाई परिचयपत्रको व्यवस्था गर्न, लामो दूरीमा आलोपालो चलाउने गरी चालक राख्न निर्देशन दिने गरेको छ ।

तर, नियमको पालना नहुँदा चाडपर्वका बेला हुने दुर्घटना न्यूनीकरण हुन सकेको छैन । दुर्घटना रोकथामका लागि भन्दै यसपटक नाकाहरुमा गाडीको यान्त्रिक परीक्षण भइरहेको छ । तर, यो पनि प्रभावकारी देखिएको छैन । घटस्थापनाका दिनदेखि अभियान सुरु गरिए पनि अहिले खासै यो अभियान सञ्चालनमा छैन । (उज्यालो)