५ असोज, कञ्चनपुर / बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु साह, २५ वर्षीय राजकिशोर साह र २७ वर्षीय विकासकुमार साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।
‘बच्चा चोर्न लागेको भन्दै गाउँलेले चारै जनालाई घेरा हालेका रहेछन्, हामीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ’, शाहले भने । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । शुक्लाफाँटा–८ का छ वर्षीय बालकलाई मिठाई दिएर ललाइफकाई जङ्गलतर्फ लैजान खोज्दा चारैजनालाई घेरा हाली नियन्त्रणमा लिएको स्थानीयले बताएका छन्।
कोहलपुर खबर । ५ आश्विन २०७९, बुधबार १०:५८