६ मंसिर,कोहलपुर। सरकारले प्रतिबन्ध लगाए पनि धेरै जनाको टिकटक चलिरहेको छ । सरकारले टिकटक बन्द गरे पनि टिकटक पारखीहरुले अन्य एपबाट टिकटक चलाइरहेको पाइएको छ ।
हाल धेरैजसोले टिकटक चलाउनका लागि प्रयोग गरिरहेको भीपीएन र डीएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।
यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरी हुन सक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भीपीएन, डीएनएस जस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।
ब्यूरोले भीपीएन, डीएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्तवपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको समेत पहुँच पुर्याई चोरी हुने र आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको जनाएको छ ।
कोहलपुर खबर । ६ मंसिर २०८०, बुधबार ११:४०