घरभित्रै निसास्सिएर सुर्खेतमा आमा–छोराको मृत्यु

सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु भएको छ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानकी ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

घटना बुधवार रातिको हो । यद्यपि प्रहरीले बिहीवार बिहान मात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रविर विश्वकर्माले बताए उनका अनुसार बेलुका खाना खाएर सुतेको र‌ बिहान अबेरसम्म कोही बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो ।

घरभित्र कोइला बालेको र धुवाँले निसास्सिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । उनले भने, ‘हामी जाँदा तीन जना अचेत अवस्थामै फेला पार्यौं, सबैलाई उद्दार गरेर अस्पताल पठाएको हो ।’

अस्पतालले आमा–छोरालाई मृत घोषणा गर्यो भने ९ वर्षीय छोरी रिया थापा भने घाइते अवस्थामा रहेकाले कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।