चालू आर्थिक वर्षको चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले जागिर छाडेका छन् ।
प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व अधिकारीले २०८१ साउनदेखि कात्तिक मसान्तसम्म ५०९ जना प्रहरी कर्मचारीले राजीनामा दिएको बताए । साउनदेखि कार्तिकसम्म १ हजार १ सय १५ जना प्रहरीविरुद्ध विभिन्न उजुरी परेको र तीमध्ये ७ सय ६८ वटा फर्स्योट भएको अधिकारीले बताए ।
पछिल्लो ४ महिनामा नेपाल प्रहरीको १४ वटा कार्यालय भवन तयार भएका छन । चालु आर्थिक वर्षको चार महिनामा दुईवटा कार्यालय प्रमुख निवास, १५ ब्यारेक र १४ वटा मेश तयार भएका हुन्। हाल ४२१ वटा प्रहरी युनिटले अन्य निकायको भवनमा आश्रित भएर कार्यालय सञ्चालन गरिरहेको छ ।
अपराधको तथ्यांक डरलाग्दो
यो अवधिमा देशभर १९ हजार ४९८ आपराधिक घटना प्रहरीमा दर्ता भएका छन् । तीमध्ये बैंकिङ कसुर, आर्थिक कारोबार र ठगीका घटना सबैभन्दा बढी छन् ।
चार महिनामा बैंकिङ कसुरमा मात्रै ४ हजार ३५९ उजुरी परेका छन् । चेक बाउन्सको मुद्दा मात्रै हेर्न मिल्ने प्रहरीका लागि आर्थिक अपराध सबैभन्दा चुनौती बनिरहेको तथ्यांकले देखाएको छ । प्रहरीको तथ्यांक अनुसार चार महिनामा हत्याका १०९ घटना भएका छन् भने हत्या प्रयासका ३८२ उजुरी परेका छन् । त्यस्तै चार महिनामा अपहरणका ६५ उजुरी दर्ता भएका छन् ।
नेपाली समाजमा जबरजस्ती करणी अर्को जोखिम बन्दै गएको छ । चार महिनामा प्रहरीमा ८२३ घटना दर्ता भएको छ । नेपाली समाजमा आमहत्याको तथ्यांक पनि डरलाग्दो छ। यो बीचमा २ हजार २३६ जनाले आत्महत्या गरेका छन् ।
कोहलपुर खबर । ४ पुष २०८१, बिहीबार १०:३२