प्रधानमन्त्री केपी शर्मा ओली यही पुसमा भारतको भ्रमणमा जाने भएका छन्। त्यसका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको छ ।
युरोप भ्रमणमा सकेर परराष्ट्रमन्त्री आरजु राणा त्यहीबाट नयाँ दिल्ली पुगेकी छन् । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा दिल्ली गएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय भइनसके पनि यही पुस २५ गते जाने गरि तयारी थालिएको छ ।
भारतमा रहँदा परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने मन्त्री राणाको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले पनि गृहजिल्लामा झापामा भएको एक कार्यक्रममा आफू छिट्टै भारत भ्रमणमा जाने बताएका थिए ।
मंसिर १७ गते चीन भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणालाई नै दिल्ली पठाएका थिए । तर त्यसबेला दिल्लीबाट ठोस जवाफ नआएपछि ओली चीन भ्रमणमा गएका थिए ।
त्यसअघि प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको थियो ।
कोहलपुर खबर । ४ पुष २०८१, बिहीबार १०:३०