काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणको उपाधि जितेको छ ।
शनिबार भएको रोमाञ्चक फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
जनकपुरको जितमा ओपनर लाहिरु मिलान्था नायक बने । उनले ४९ बलमा ८७ रन बनाए । सो क्रममा उनले ९ चौका र ४ छक्का प्रहार गरे ।
६.६ ओभरमा कप्तान आसिफ शेखलाई ३३ रनमा सैफ जैबले आउट गरे । सैफको बलिङमा आसिफले गरेको प्रहारलाई ब्राण्डन म्याकमुलनले क्याच आउट गरे ।
९.६ ओभरमा मोहम्मद मोहसिनलाई इशान पाण्डेले ९ रनमा आउट गरे । १५.३ ओभरमा मिलान्थालाई स्कट कुगेलेइनले आउट गरे । मिलान्थाको प्रहारलाई स्कटले नै क्याच गरे । हर्ष थाकेरले रन जोडे ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, इशान पाण्डे र सैफ जैबले एकरएक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर सैफ जैबले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६९ रन जोडे । अर्का ओपनर विनोद भण्डारीले ४१ रनको योगदान गरे ।
भण्डारी र जैबले उत्कृष्ट सुरुवात गरेका थिए । उनीहरुले पहिलो ओभरका लागि ११७ रनको साझेदारी गरे । जुन सुदूरपश्चिमका लागि सबैभन्दा ठूलो साझेदारी हो ।
त्यसपछि लगातार विकेट गएको कारण विशाल लक्ष्य दिन सुदूरपश्चिमले सकेन । तर, प्रतिस्पर्धात्मक लक्ष्य भने दिएको छ । कप्तान दीपेन्द्रसिंह ऐरीले ९, हरमित सिंहले १४, ब्राण्डन म्याकमुलनले १४, स्कट कुगेलेइनले १३ रन बनाए । आरिफ शेख १ रनमै आउट भए । जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले तीनरतीन तथा ललित राजवंशी र जेम्स निशमले १–१ विकेट लिए ।
यससँगै विजेता टोली जनकपुरले १ करोड १० लाख रुपैयाँ जितेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँ जितेको छ । तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ पाएका छन् ।
कोहलपुर खबर । ६ पुष २०८१, शनिबार १६:०४