तलब वृद्धि सहित विभिन्न माग राख्दै मेडिकल कलेजका कर्मचारी आन्दोलित, ओपिडी सेवा पूर्ण रुपमा बन्द

माग सुनुवाइ नगरिएपछि शुक्रबारबाट दुबै अस्पतालका ओपिडी सेवा पूर्ण रुपमा बन्द गराउनुका साथै मेडिकल कलेजको पढाइ पनि बन्द गराइएको छ ।

५ पुस, कोहलपुर । मंसिर २६ गतेदेखी विभिन्न माग सहित आन्दोलनमा उत्रिएका नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।

विभिन्न माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु दोस्रो चरणको आन्दोलनमा उत्रिएका छन । कर्मचारीहरुको मागलाई अस्पताल प्रशासनले वेवास्ता गरेको भन्दै शुक्रबारदेखी दोस्रो चरणको आन्दोलन अन्तर्गत नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालको ओपिडी सेवा पूर्ण रुपमा बन्द गरीएको छ।

सरकारले तोकेको तलब वृद्धिको माग गर्दै दोस्रो चरणको आन्दोलनमा उत्रिएका मेडिकल कलेज र शिक्षण अस्पतालका कर्मचारीले बुधवार र बिहीबार आधा समय ओपिडी बन्द गराएका थिए । तर उनीहरुको माग सुनुवाइ नगरिएपछि शुक्रबारबाट दुबै अस्पतालका ओपिडी सेवा पूर्ण रुपमा बन्द गराउनुका साथै मेडिकल कलेजको पढाइ पनि बन्द गराइएको केन्द्रीय आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीले बताईन ।

आन्दोलनको बारेमा जानकारी दिन कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गिरीले अस्पताल व्यवस्थापनले कर्मचारीका जायज माग पूरा गर्नुको सट्टा उल्टै धम्की दिने र तर्साउने विज्ञप्ति जारी गर्ने गरेको जनाउँदै अस्पतालका ओपिडी सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको बताईन । बिरामीको समस्यालाई हेरेर हाललाई आपतकालीन सेवा जारी राखिएको जनाउँदै संयोजक गिरीले माग पूरा नगरिए थप आन्दोलन अगाडि बढ्ने चेतावनी समेत दिएकी छन ।

व्यवस्थापन पक्षसँग बारम्बार वार्ता र संवादका प्रयास असफल भएपछि आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउन बाध्य भएको कर्मचारी युनियनका नेताहरूले बताएका छन् । लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले पहिलो चरणको आन्दोलन गर्दा माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरी हाल आन्दोलनमा छन् ।

आन्दोलनरत कर्मचारी र अस्पताल व्यवस्थापनबीच पटक ९ पटक वार्ता भए पनि निष्कर्ष ननिस्कँदा आन्दोलनलाई निरन्तरता दिनुपरेको कर्मचारीको भनाइ छ । कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासनसमक्ष विभिन्न सातबुँदे मागपत्र राखेका थिए। सो मागपत्रका सम्बन्धमा अस्पताल व्यवस्थापन र कर्मचारीका बीच पटक९पटक वार्ता हुँदा अस्पतालको व्यवस्थापन पक्ष कर्मचारीका माग पूरा गर्ने कुरामा सराकात्मक नदेखिएकोले आन्दोलन बढ्दै गएको बताईएको छ।

पश्चिम नेपालकै सबैभन्दा ठुलो निजी अस्पताल कोहलपुर शिक्षण अस्पताल र नेपालगन्जस्थित शिक्षण अस्पतालको ओपिडी सेवा आन्दोलनरत कर्मचारीले बन्द गराएपछि बिरामीलाई समस्या भएको छ । ओपिडी सेवा बन्द भएपछि शुक्रवार धेरै बिरामी अस्पताल पुगेर उपचार नपाई फर्किएका थिए ।