सर्पको टोकाइले बालकको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध

१४ जेठ, सुर्खेत । सुखर्तेको गुर्भाकोट नगरपालिका–९  बोटेचौरका ९ वर्षीय अनमोल चुनारालाई सर्पले टोकेर मृत्यु हुँदा आफन्तले सडक अवरुद्ध गरेका छन् ।

सर्पको टोकाइबाट मृत्यु भएका चुनाराका आफन्तले भेरी करिडोर अन्तर्गतको छिन्चु–जाजरकोट सडक खण्ड र सुर्खेत–दाङ सडक खण्ड अवरुद्ध गरेका हुन् । सर्पले टोकेका बालकलाई सुरुमा उपचारका लागि मेहलकुना अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि  उपचारका लागि प्रदेश राजधानी वीरेन्द्रनगर लिने क्रममा शनिबार बोटोमै मृत्यु भएको थियो ।

बालकको बाटोमै मृत्यु भएपछि आफन्तहरुले शनिबार राति मेहलकुना अस्पताल तोडफोडसमेत गरेका थिए । आफन्तहरुले उचित क्षतिपूर्तिको माग गर्दै सोमबार बिहानैदेखि बोटेचौर बजारमा सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका कारण छिन्चु–जाजरकोट–डोल्पा सडक र सुर्खेत–सल्यान–दाङ सडक अवरुद्ध भएका छन् ।