अटोरिक्सा व्यवस्थापनको माग गर्दै कोहलपुरका रिक्सा चालक मारमा दोहोरो कर तिर्दैनौ भन्दै ई रिक्सा चालकले बुझाए कोहलपुर नगरपालिकालाई ज्ञापनपत्र

कोहलपुर ।

कोहलपुर नगरपालिकामा संचालित ई रिक्सा चालकहरुले अटोरिक्सा व्यवस्थापनको माग गर्दै शान्तिपुर्ण आन्दोलनमा उत्रिएका छन् ।

लामो समयसम्म नगरले उनिहरुको मागलाई सम्बोधन नगर्दा शान्तिपुर्ण रुपमा आन्दोलनमा उत्रिएका हुन् । दोहोरो कर र दोहोरो विलबुकले हामी मारमा परेको हुनाले हामीलाई स्थानिय तहमा मात्र दर्ता र कर तिर्ने वातावरण मिलाउन माग गर्दै सोमवार उनिहरु कोहलपुरको भेला भै शान्तिपुर्ण आन्दोलन गरेका छन् ।दोहोरो करले हामीलाई अन्याय भयो भन्दै उनिहरुले सडकमा उत्रिएका हुन् । दुई दुई ठाउँमा दर्ता गर्दा पनि हामीलाई सुख नभएको ई रिक्सा चालक मेघनाथ काफ्लेले बताउनुभयो ।सोमवार कोहलपुरमा संचालित ई रिक्सा मजदुर संगठन र कोहलपुर यातायात सेवा प्रालिले ई रिक्सा व्यवस्थापनको माग गर्दै कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र समेत बुझाएका छन् । कोहलपुरमा संचालित अटोरिक्सा कार्यविधि अनुसार संचालन नभएको, ट्राफिक प्रहरीको चेकजाँचमा लापरवाही भएको, अटोरिक्सा अव्यवस्थित अवस्थामा रहेकोले यसको व्यवस्थापन गर्न आवश्यक रहेको ई रिक्सा मजदुर संगठन कोहलपुरका अध्यक्ष बिनोद मल्लले बताउनुभयो । कोहलपुरमा संचालित ईरिक्साहरु नगरपालिकामा मात्र दर्ता भै संचालन गर्न दवाव मुलक ज्ञापन पत्र बुझाएको अध्यक्ष मल्लले बताउनुभयो ।


ई रिक्सा चालकले अरुबाट हेपहा हुदा हुदा पनि सेवा प्रदान गर्दै आएको उहाँले भन्नुभयो । आपतको समयमा ई रिक्साले एम्बुलेन्सको समेत काम गरेको उहाँले बताउनुभयो । दर्ता र लाइसेन्सको लागि कोहलपुर नगरपालिका र ट्राफिक प्रहरीले चासो नदेखाएको हुनाले यसतर्फ पनि ध्यान जान जरुरी रहेको अध्यक्ष मल्लले बताउनुभयो । एक जिल्ला वा अन्य पालिकामा सवारी बोकेर जाँदा आवतजावतमा समस्या निम्त्याउने गरेको कोहलपुर यातायात सेवा प्रालिका अध्यक्ष भुम बहादुर घर्तिमगरले बताउनुभयो ।

दुई दुई वटा विलबुक किन बोक्ने भन्दै यसलाई कार्यविधिबाटै सच्चाउन अध्यक्ष घर्तिमगरले बताउनुभयो ।
कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुवेदीले ई रिक्सा चालकहरुले समस्या पर्दा नै हामीकहा आएको हुनाले यसबारे सकरात्मक रहेको बताउनुभयो । नगरले पनि कार्यविधि तयार गरेको छ यस बारे हामीले यातायातसंग सहकार्य गरि केही दिनभित्रै कार्यन्वय हुने कार्य लागु गरिने उपमेयर सुवेदीले बताउनुभयो ।

ई रिक्सा चालकले दर्ता गरि मात्र सवारी साधन चलाउनु पर्ने जस्ता विधि तयार भएको छ सोही अनुसार चालकले नगरपालिकामा दर्ता गरि रिक्सा चलाउदा आफुलाई पनि सहज र सुरक्षित हुने उहाँले बताउनुभयो । रिक्साको विषयमा निति बनेको छ त्यही आधारमा कडाईका साथ अगाडी लैजाने र व्यवस्थापन गर्ने तर्फ नगरपालिकाको ध्यान केन्द्रित बनेको उहाँले बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालय बाँकेले भने अटो रिक्साको लाइसेन्स, विलबुक नियमित चेकजाँच गरिनुका साथै रिक्साको दाहिने साइडमा रड हाल्न लगाउने कार्य भैरहेको जनाएको छ । अटो रिक्सा व्यवस्थापनका लागि नियमित चेकजाँच गरिनुका साथै दर्ता गराउन अनुरोध गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपी कृष्ण सुवेदीले बताउनुभयो ।

चारैतिर चेकजाँच गर्न जनशक्तिको अभावले सम्भव नभएको उहाँले बताउनुभयो । हाल कोहलपुरमा करिब ६ सय अटो रिक्सा संचालनमा रहेका छन जसमध्ये बढिमा १ सय ५० रिक्सा नगरपालिकामा दर्ता रहेका छन् ।