१२ असोज,काठमाडौं । शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौं आउँदै गरेका राहत शिक्षक चढेको विङ्गर गाडी दुर्घटनामा परेको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटार नजिक विङ्गर गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१ ज ००६२ नम्बरको इलेक्ट्रिक भ्यान आज बिहान ८ बजे सडक किनारको नालीमा पल्टिएको हो। घाइतेहरुलाई थप उपचारका लागि धुलिखेलतर्फ पठाइएको सिन्धुली प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने ४६ वर्षीय निरकुमार चालिसे, कमलामाई नगरपालिका ५ बस्ने ४६ वर्षीया कमला घिमिरे, कमलामाई नगरपालिका–१ बस्ने ३४ वर्षीय मुकुन्द थापा, सोही स्थानका ४१ वर्षीय भुवन थापा घाइते भएका छन् ।यसैगरी सिन्धुलीकै कमलामाई नगरपालिका वडानम्बर ४ बस्ने ४० वर्षीया बबिता देवकोटा, वडा नं. ६ बस्ने ४६ वर्षीय विष्णु ढकाल र उनको ११ वर्षीय छोरा निश्चल तथा कमलामाई नगरपालिका ६ का ४० वर्षीय सरोज थापा पनि घाइते भएका छन् ।सिन्धुलीको तिनपाटन गाउँपालिका १० बस्ने ४० वर्षीय राजन कार्की र काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १० बस्ने ४० वर्षीया गार्की बस्नेत पनि सोही दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुमध्ये शोभा र सन्ध्या घिमिरेको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको सिन्धुली प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए।
कोहलपुर खबर । १२ आश्विन २०८०, शुक्रबार ११:२०