२१ भदौ,विराटनगर । श्रीकृष्ण जन्माष्ट्मीको भोलिपल्ट निकालिने त्यही राधाकृष्ण रथयात्राको ५५ औं संस्करण आज आयोजना हुँदैछ। पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको यसपटकको रथयात्राको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।कृष्ण जन्माष्टमीको रथयात्रा आज दिउँसो करिब ३ बजेबाट सुरु हुनेछ ।
राधाकृष्णको जोडीलाई भव्य रथको अग्रभागमा राखेर हजारौं श्रद्धालुको लर्कोले उल्लासपुर्वक नगर परिक्रमा गराइने विराटनगरको रथयात्रा यहाँको साँस्कृतिक पहिचान बनिसकेको छ। ५५ वर्षयता विराटनगरमा हरेक वर्ष जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने गरिएको छ। कोरोना महामारीका दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा मात्रै निकालिएको थियो।
आयोजक समितिका अनुसार यसपटक विराटनगरको राधाकृष्ण मन्दिर तिनपैनीबाट सुरु हुने रथयात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ।प्रहरीले पनि रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अनुमान गरेको छ।जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित हुने जनाएको छ।
कोहलपुर खबर । २१ भाद्र २०८०, बिहीबार ११:३०