२७ असार,रोल्पा । रोल्पामा एउटा वडाध्यक्षको स्क्रब टाइफस’ का कारण मृत्यु भएको छ। रून्टीगढी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष टंकबहादुर पुनको ’स्क्रब टाइफस’ का कारण मृत्यु भएको हो । बुधबार मध्याह्न साढे १२ बजेतिर दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४० वर्षीय वडाध्यक्ष पुनको उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जनक पुनले बताए। पुन असार २५ गते बिहान ११ बजे प्रतिष्ठानमा उपचारका लागि भर्ना हुन आएका थिए। राति गाह्रो भएपछि पुन फेरि २६ गते बिहान ८ बजे प्रतिष्ठानमा भर्ना हुन आएका थिए। ’स्क्रब टाइफस’ रोगको लक्षण देखिएपछि उनलाई नर्मल वार्ड हुँदै आइसियु र अन्त्यमा भेन्टिलेटरमा राखेर उपचारको प्रयास गरिएको भनेर प्रतिष्ठान प्रशासनले आफूलाई जानकारी दिएको गाउँपालिकाका अध्यक्ष पुनले बताए। प्रतिष्ठान प्रशासनले पनि स्क्रब टाइफसका कारण वडाध्यक्षका मृत्यु भएको पुष्टि गरेको गाउँपालिकाका अध्यक्ष जनक पुनले बताए । गत स्थानीय निर्वाचनमा पुन नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । स्क्रब टाइफस ’ओरिन्सिया सुसुगामासी’ नामक ब्याक्टेरियाको कारणले हुने गर्छ। यो ब्याक्टेरियालाई मुसाबाट मानिसमा ’चिगर माइट’ किर्नोले सार्ने गर्दछ।
कोहलपुर खबर । २७ असार २०८०, बुधबार १७:०१