१७ असार, कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिकाद्धारा शुक्रबार निःशूल्क छाला रोग शिविर संचालन गरीएको छ ।
कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा छाला तथा यौन रोगका बिरामीहरुले स्वास्थ्य सेवा लिएका थिए । भेरी अस्पतालका कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा. बद्री चापागाईले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । अधिकांशमा दाद, लुतो, एलर्जिलगायतका समस्या देखिएको डा.चापागाईले बताए ।
शिविर उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले छाला तथा यौन रोगको समस्याबारे अझैपनि बिरामीहरु खुलेर आउन नसकेको अवस्थामा नगरपालिकाले ति बिरामीहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएको बताए । उनले छाला तथा यौन रोग पहिचान र उपचारका लागि आगामी दिनमा नगरपालिकाका सबै वडामा यस्ता शिविरहरु आयोजना गरिने पनि बताए ।
यसअघि बिशेषज्ञ चिकित्सककै सहयोगमा कौशिल्या अस्पतालसँग सहकार्य गरेर पन्ध्र वटै वडामा जेष्ठ नागरिकलाई लक्षित गरेर निःशूल्क शिविर गरिएको थियो ।
कोहलपुर खबर । १७ असार २०७९, शुक्रबार १७:०९