३० जेठ कोहलपुर । अत्यधिक गर्मी बढेपछि काम विशेषले घर बाहिर निस्कने सर्वसाधारणको सहजताका लागि बाँकेको बैजनाथ गाँउपालीका वडा नं. ४ बानियाभारमा निःशुल्क चिसो कागतीपानी, शुद्ध खानेपानी र जुस वितरण गरिएको छ ।
तातो हावा र गर्मीका कारण बजार निस्केका स्थानीयलाई समस्या भएपछि युवा ब्यबसायी, राष्ट्रिय युवा संघ बाँके जिल्ला कमिटि सदस्य केशब रोकायको संयोजकत्वमा निःशुल्क चिसो कागतीपानी, शुद्ध खानेपानी र जुस वितरण कार्यक्रमको आयोजना गरीएको हो ।
नेपालगन्ज रियलस्टेट प्रा.ली र सखिया कृषि सहकारी संस्था लि.को मुख्य प्रायोजनमा कार्यक्रम गरीएको हो । युवा समाजसेवी केशब रोकायका अनुसार एक हजार पाँच सयभन्दा बढी सर्वसाधारणलाई कागतीपानी, जुस, र चिसो पानी खुवाउने लक्ष्यका साथ पानी वितरण गर्ने कार्य भइरहेको बताए ।
तातो हावा लू चलेर तापक्रम बढ्दै जाँदा अत्यधिक गर्मी बढेपछि घर बाहिर निस्केका सर्वसाधारण खानेपानीको खोजीमा भौँतारिने गरेको देखेपछि उनीहरूको सहजताका लागि कार्यक्रमको आयोजना गरीएको रोकायले बताए । बैजनाथ गाँउपालिका वडा नं. ४ को बानियाभार चोकमा टेन्ट लगाएर बटुवालाई पानी खुवाउन थालेको छ ।
निःशुल्क चिसो कागतीपानी, शुद्ध खानेपानी र जुस वितरण कार्यक्रम दुईदिन सम्म चल्ने उनले बताए । कार्यक्रमको पहिलो दिन पाँच सय जना जतिले लाभ लिएको रोकायको भनाई छ । गर्मि अत्याधिक बढेपछि यस अधि नेपालगन्ज र खजुराका बिभिन्न ठाँउमा पनि निःशुल्क खानेपानी वितरण गरीएको थियो ।
कोहलपुर खबर । ३० जेष्ठ २०८०, मंगलवार १६:४९