८ बैशाख,काभ्रेपलाञ्चोक / बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारी समेत गरी १४ करोड रकम लगेर भागेका छन्।
द्रौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट १४ करोड लिएर भागेपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन्।
द्रौपदाका अन्य सञ्चालकका अनुसार उक्त सहकारीको करिब पाँच करोड रकम अपचलन भएको छ।
सोही सहकारीका सञ्चालक समितिका उपाध्यक्ष झम्कप्रसाद गौतमको ६५ लाख र उनका दाजु देवीप्रसाद गौतमको ५१ लाखसमेत गौतमले लिएर फरार भएको बताइएको छ। गौतम प्रमुख कार्यकारी अधिकृतसमेत रहेको पुण्यश्वर सहकारीको चौँरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा नगरसहितका सात हजार २०० सदस्यको नौ करोड रकम गौतमले नै खर्च गरेर महिनौँदेखि बेपत्ता भएको पीडितको निवदेनमा उल्लेख छ।
कोहलपुर खबर । ८ बैशाख २०८०, शुक्रबार १५:००