काठमाडौं- उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन–पत्र दर्ता हुँदैछ ।
निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ। दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ बजेदेखि अपराह्न ३ बजेसम्ममा हुनेछ । यस्तै ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।
यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे तोकिएको छ। त्यही दिन १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता गर्ने र ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरी कार्यक्रम तय भएको छ ।
उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिइसकेको छ ।
उपराष्ट्र्पतिको निवार्चन चैत ३ गते हुनेछ ।
कोहलपुर खबर । २७ फाल्गुन २०७९, शनिबार ०६:५८