माघ, २९ काठमाडौं : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ महिनापछि पार्टीमा व्यापक रूपान्तरण गर्ने बताएका छन्।
आइतबार दिउँसो पेरिसडाँडामा माओवादी केन्द्रका बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘पार्टीको स्थायी समिति बैठकले २ महिना संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। अब पार्टीका सबै नेता, कार्यकर्ता जनतामा जानुछ। २ महिना पार्टीका तल्ला कमिटीमा जान्छौँ, कार्यकर्ता र जनतासँग अन्तरक्रिया गर्छौं।अहिले बेला भएको छैन, २ महिने अभियानले हाम्रो अवस्था र कार्यकर्ता, जनताको आकांक्षा पहिचान हुन्छ। त्यसको आधारमा केन्द्रीय समितिको पूर्ण बैठक बसेर पार्टीको व्यापक रूपान्तरण गर्छौं।’
प्रधानमन्त्री प्रचण्डले आफूले नेतृत्व गरिरहेको सरकारका लागि चुनौतीपूर्ण अवसर भएको बताएका छन्।
‘हामीले सरकारको नेतृत्व गरिरहेका छौँ, यो हाम्रा लागि चुनौतीपूर्ण अवसर हो। यो कार्यकाललाई नयाँ शिराबाट लैजान खोजेका छौँ। सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्छ। सरकारले राम्रो काम गर्नु भनेको पार्टी पुनर्निर्माणको आधार तयार पार्नु पनि हो। तपाईंहरू पनि यसलाई केन्द्रमा राखेर काम गर्नुहोला,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत पाएपछि नयाँ परिस्थिति बनेको बताए। उनले कांग्रेसतर्फ संकेत गर्दै आफूलाई विश्वासको मत दिने दलको भावना पनि सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताए।
‘विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ। विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नुछ। हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ। त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु।’
कोहलपुर खबर । २९ माघ २०७९, आईतवार १७:०१