बागमतीमा मुख्यमन्त्रीलाई नेमकिपाबाहेक सबैले दिए विश्वासको मत

३ माघ, काठमाडौं / बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले असाधारण विश्वासको मत पाएका छन् ।

मङ्गलबार प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत मागेका थिए । ११० सदस्यीय बागमती प्रदेशसभाका १०५ सदस्यले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत दिएका हुन्।

यो असाधारण बहुमत हो। सरकार जोगाउन ५६ मत भए पुग्थ्यो। सभामुख भुवनकुमार पाठक र उपसभामुख अप्सरा चापागाईं विश्वासको मत विभाजनमा सहभागी भएनन् ।

उनको विपक्षमा ३ जनाले मात्रै मत दिए । प्रदेशसभाको ७ वटा राजनीतिक दलमध्ये ३ सदस्यीय नेपाल मजदुर किसान पार्टी मात्रै मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिएको हो।

मुख्यमन्त्री जम्मकट्टेललाई नेपाली काङ्ग्रेसको ३७,नेकपा एमालेको २७,नेकपा माओवादी केन्द्रको २१,राप्रपाको १३,नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जनाले विश्वासको मत दिएका हुन्।

जमकट्टेल ५ दलका ७० सांसदको समर्थनमा गत पुस २५ गते प्रदेशको चौथो मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई मुख्यमन्त्रीमा केन्द्रको समीकरण बाहिर रहेको समाजवादी र हाम्रो पार्टी नेपालले समर्थन गरेको थियो।

पुस २६ गते केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले मङ्गलबार मुख्यमन्त्रीलाई पनि विश्वासको मत दिएको हो । ( थाहा खबर बाट )