मुख्यमन्त्री कोहलपुर गोल्डकपको तेस्रो संस्करण फागुन १७ गतेदेखि

११ फागुन, कोहलपुर। बाँकेको कोहलपुरमा यहि फागुन १७ गतेदेखि कोहलपुर गोल्डकपको तेस्रो संस्करण सञ्चालन हुने भएको छ। रेसिङ्ग साहारा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको बारेमा आइतबार कोहलपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।

पत्रकार सम्मेलनमा तेस्रो मुख्यमन्त्री गोल्डकप २०८१ का संयोजक कर्ण बस्नेतले आगामी फागुन १७गतेदेखि २४ गतेसम्म कोहलपुरको तेह बिघा खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिए। यसअघि दुई संस्करणका मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता सम्पन्न भइसकेका छन् । यस वर्षदेखि स्थानीय पर्यटन प्रवर्धन र खेलकुद पर्यटन प्रवर्धन समेत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा भाग लिन आउने खेलाडी तथा अफिसियलहरूलाई बाँकेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू र बर्दिया राष्ट्रिय निकुञ्जमा समेत अवलोकन भ्रमण गराइने प्याकेज बनाइएको उनले बताए ।

प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहने आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले जानकारी दिए। घानाको अफ्रिकन राष्ट्र घाना फुटबल क्लब, भारतको साहारा फुटबल क्लबसहित प्लानिङ्ग ब्वाइज युनाइटेड क्लब काठमाडौँ, लुम्बिनी फुटबल एकेडेमी घोराही दाङ, काक्रेबिहार फुटबल क्लब सुर्खेत, राइजिङ्ग स्टार फुटबल क्लब नवलपरासी, राइनो फुटबल क्लब गण्डकी प्रदेश र आयोजक कोहलपुर रेसिङ्ग साहारा फुटबल क्लब बाँकेको सहभागिता रहने उनले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई आठ लाख, दोस्रो हुनेलाई चार लाख, म्यान अफ दि टुनमिन्टलाई ५१ हजार, बेष्ट कोच, बेष्ट गोलकीपर, बेष्ट राइजिङ स्टार, बेष्ट डिफेन्डर, बेष्ट फर्वाडलाई १०र१० हजार र हरेक दिन म्यान अफ दि म्याच हुनेलाई पाँच हजार नगदका दरले पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रममा आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबले आफ्नो जर्सीसमेत सार्वजनिक गरेको थियो । क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री, एन्फाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष भोजराज शाही र कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जर्सी सार्वजनिक गरेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न ९१ लाख २६ हजार रुपियाँ खर्च लागत लाग्ने अनुमान आयोजकले गरेको छ ।