११ साउन, कोहलपुर । पीपल संस्थाले मुगुको मुगुम कार्माराङ गाउँपालिकामा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक सहयोग गरेको छ ।
कोहलपुरमा पत्रकार सम्मेलन गरि विद्यालयमा अध्ययरत दलित,लामा समुदाय लगायतका विद्यार्थीहरूको सहजताका लागि विद्यालयलाई पोशाक हस्तारण गरिएको छ ।
भौगोलिक विकटताका कारण पठनपाठनमा समस्या हुँदै आएको जानकारी पाएपछि विद्यार्थीहरुलाई अध्ययन गर्न सजिलो होस् भनेर पोशाक सहयोग गरिएको पीपल संस्थाका जगदिश पराजुलीले बताए ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोमा चिसोबाट जोगिन सहयोग पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत सहयोग स्वरूप करिब छ लाख बराबरको पोशाक सहयोग गरेको पराजुलीले बताए ।
नेपाल सरकारले मासिक ४ हजारभन्दा बढिका दरले विद्यार्थीहरुलाई छात्रवृत्ती सहयोग गरेपनि त्यो प्रयाप्त नभएका कारण विद्यालयको अनुरोधमा आफूहरूले पोशाक सहयोग गरेको अमेरिकामा बसोबास गर्दै आएका संघर्ष राईले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै राईले पोशाककै कारण बालबालिकाहरू बिद्यालय आउनबाट बन्चित नहोउन् भनेर यो सहयोग गरिएको बताए । उनले भने ‘यो सहयोग सानो भएपनि पोशाकले विद्यार्थीहरूलाई चिसोबाट जोगाउन सहयोग पुग्नेछ ।
कार्यक्रममा मुगुम कार्माराङ गाउँपालिकाका नायब सुब्बा गौरीकान्त चौलागाईले कर्णाली प्रदेशलाई दुर्गम छ भनेर मात्रै नहुने र त्यसका लागि सबैले सहयोगी हात बढाउनु पर्ने बताए । उनले भने ‘पीपल संस्थामार्फत् आफ्नो स्थानीय तहको विद्यालयमा आएको पोशाक सहयोगका लागि सदैव कृतज्ञ रहने छु ।’
कार्यक्रममा मुगुका पत्रकार जीवन सेजुवालले यस्ता खालका सहयोगले दुर्गम क्षेत्रका बालबालिकाहरूलाई विद्यालयमा पठनपाठनका लागि नियमित आउन प्रेरित गर्ने बताए ।
कोहलपुर खबर । ११ श्रावण २०७९, बुधबार २३:१७