३ जना मन्त्री लुम्बिनीमा थपेर मन्त्रि परिषद विस्तार

८ जेष्ठ,कोहलपुर / लुम्बिनी प्रदेश सरकार आज विस्तार हुने भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ३ जना मन्त्री थपेर आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । जसअनुसार कांग्रेस, जसपा र जनमत पार्टीका एक,एक जनालाई मन्त्री बनाउने मुख्यमन्त्री चौधरीको तयारी रहेको छ।

बाँकेका भण्डारीलाल अहिर, दाङका राजु खनाल र रुपन्देहीका चन्द्रकेश गुप्ता मन्त्री बन्ने छन् । खनाल कांग्रेस, अहिर जसपा र गुप्ता जनमत पार्टीबाट मन्त्री बन्न लागेका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन् । आज नयाँ मन्त्रीहरु पनि नियुक्त गर्ने र विनाविभागीय मन्त्रीहरुको पनि जिम्मेवारी तोक्ने तयारी मुख्यन्त्री चौधरीको भनाई रहेको छ ।