कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्त शिक्षा सम्बन्धि अध्ययनरअध्यापन सुरु भएको छ ।
गत श्रवण ४ गतेदेखी डेन्टल अस्पताल सुरु गरेको कलेजले दन्त स्वास्थ्य सेवासँगै दन्त शिक्षा संकायको अध्ययन समेत सुरु गरेको हो । मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै कलेज प्रशासनले पुष २५ गतेदेखी डेण्टल कलेजमा अध्ययन-अध्यापन सुरु भईसकेको जनाएको हो। काठमाण्डौं विश्वविद्यालयबाट स्वीकृत प्राप्त कोहलपुर डेन्टल अस्पतालमा पहिलो वर्षमा बि.डि.एस. कार्यक्रमतर्फ १५ जना र बि.एम.एल.टी. तथा बि.एम.आई.टी. तर्फ ५-५ जना विद्यार्थीको कोटा प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ।
विश्वविद्यालयको प्रावधान अनुसार बि.डि.एस. कार्यक्रमतर्फ अधिकतम ४० तथा बि.एम.एल.टी. तथा बि.एम.आई.टी. तर्फ २०-२० जना विद्यार्थी कोटा निर्धारण हुने भए पनि आवश्यक पुर्वाधारको अभावमा पहिलो चरणमा तिन कार्यक्रमकालागी २५ जना विद्यार्थीको कोटा सुनिश्चित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार विएलले जानकारी दिए ।
अस्पतालले दन्त परिक्षण सम्बन्धि ९ वटा डिपार्टमेण्टको स्थापना गरी अति विशिष्ट विशेषज्ञद्वारा उच्चस्तरिय सेवा समेत प्रवाह गर्दै आईरहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
ओरल मेडिकल एण्ड रेडियोलोजी, मुख तथा अनुहारको शल्यक्रिया (मुख तथा अनुहारको क्यान्सर, हड्डी मिलाउने, कृतिम जरा राखी दाँत हाल्ने, अनुहारमा चोट पटक लागेको मिलाउने), प्रोस्थोडोन्टिक्स (नक्कली दाँत हाल्ने, फिक्स दाँत झिक्ने र राखे, पुरै सेट दाँत हाल्ने, नक्कली आँखा, नाक, कान र गाला मिलाउने), बाँगो दाँत मिलाउने, नमिलेको गिजा (हड्डी) मिलाउने सेवासँगै गिजा सम्बन्धी विशेषज्ञ सेवा तथा बच्चाहरुको दाँत विशेषज्ञद्धारा सेवा प्रदान हुँदै आएको बताईएको छ।
त्यसैगरी दाँत सम्बन्धी सबै प्रकारका रोग पत्ता लगाउने बिशेषज्ञ सेवा, दाँतको जरा सम्बन्धि सम्पूर्ण उपचार सेवा स्वास्थ्य शिविर र जन समुदाय स्तरमा दाँत सम्बन्धी जनचेतना जस्ता डिपार्टमेन्टहरु संचालनमा आएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरका सम्पर्क अधिकृत रामकृष्ण हमालले जानकारी दिए ।
लर्ड बुद्ध एजुकेशनल एकेडमी लि. द्वारा सँचालित नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर २०५३ सालदेखि संचालनमा रहँदै आएको छ।
कोहलपुर खबर । १७ माघ २०८१, बिहीबार ०८:१७