फागुन, १५ इलाम / इलामको रोङ गाउँपालिका–३ स्थित पाथीभरा मन्दिरमा १३ दिनमा करिब ९ लाख रूपैयाँ बराबरको नगद तथा जिन्सी संकलन भएको छ ।
मन्दिरको स्वामित्व गाउँपालिकाले लिएपछि फागुन १ देखि १३ गतेसम्म ८ लाख ८९ हजार ५ सय १३ रूपैयाँ बराबरको नगद र जिन्सी संकलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका सचिव एगा अर्यालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
मन्दिरमा १३ सय वटा रसिदबाट ५ लाख ४३ हजार ६९४ रूपैयाँ संकलन भएको छ। जिन्सी रसिद २ वटाबाट २ लाख बराबरको सुनचाँदी प्राप्त भएको अनुमान गरिएको छ ।
शिला संकलन रसिद १३ वटाबाट १ लाख ४५ हजार ८१९ रूपैयाँ बराबर संकलन भएको जनाइएको छ। मनिकुमार स्याङ्बो नेतृत्वको गाउँपालिकाले दिलीप राईको अध्यक्षतामा समिति गठन गरी व्यवस्थापनको जिम्मा लगाएको थियो ।
छुट्टै एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अब गाउँपालिकामा रहने गरी ल्याउन लामो समयदेखि पहल भइरहेको थियो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी गाउँसभाबाट गत माघ ११ गते पारित गरेको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाइ जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिर गाउँपालिकाको स्वामित्वमा ल्याएको हो ।
राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था, चन्दादाता, शिक्षक र प्रत्येक वडाबाट १/१ जना गरी १९ सदस्यीय समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको छ। बर्सेनि ५ लाख भक्तजन भित्र्याएर १ करोडभन्दा बढी आम्दानी गर्ने लक्ष्य गाउँपालिकाको छ ।
कोहलपुर खबर । १५ फाल्गुन २०७९, सोमबार १५:१२