प्रचण्डद्वारा खजुरा बहुउद्देश्यीय सभाहलको उद्घाटन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाँकेको खजुरा गाउँपालिकाको खजुरा बजार निर्माण गरिएको पाँच सय क्षमताको बहुउद्देश्यीय सभाहलको उदघाटन गरेका छन् । खजुरा गाउँपालिकाले करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण गरेको सो सभाहलको अध्यक्ष प्रचण्डले बिहीबार उदघाटन गरेका हुन् ।

सभाहलको उदघाटनपछि बोल्दै अध्यक्ष प्रचण्डले बहुउद्देश्यीय सभाहलले विकासको आकाङ्‌क्षा सम्बोधन गर्न र समृद्ध खजुरा बनाउन सहयोग पुग्ने धारणा राखे । सभाहल दुई वर्षमा सम्पन्न गर्नेगरी २०७६ जेठ २१ गते अमर कन्स्ट्रक्सन प्राली कालिमाटी काठमाडौंसँग सम्झौता भएको थियो ।

यसको लागत अनुमान छ करोड ४२ लाख ८९ हजार ७९० रुपैयाँ रहेकोमा चार करोड ८५ लाख ६१ हजार ५६१ रुपैयाँमा निर्माण सम्झौता भएको हो । सभाहल तीन हजार ९९९ वर्गमिटर क्षेत्रफलको छ ।

यसैगरी, माओवादी अध्यक्ष प्रचण्डले खजुरा ३ स्थित जनता नमुना माविमा निर्माण भएको स्मारकको उदघाटन गरेका छन् । स्मारक करिब ५० लाखको लागतमा निर्माण भएको खजुरा गाउँपालिकाका इन्जिनियर सोनु शाहले जानकारी दिए । पालिकाको २९ लाख १० हजार र स्थानीय जनश्रमदान १९ लाख ५४ हजार ९०६ रुपैयाँको लागतमा स्मारक निर्माण गरिएको हो ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक र उपाध्यक्ष मन्जु मल्लले पालिकाभित्र निर्माण भइरहेका गौरवका आयोजना प्राथमिकता दिएर काम अघि बढाएको बताए ।

शहीद परिवारसँग भेटघाट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल ‘प्रचण्ड’ ले शहीद परिवारसँग भेटघाट गरेका छन् । बाँकेको खजुरा ३ धवलागिरी गाउँमा शहीद डम्बर रानाभाटको घरमा पुगेका हुन् ।

प्रचण्डले धवलागिरी क्षेत्रका शहीद परिवारसँग भेट गर्दै शहीद परिवारसँगै खाना खाएको सचिवालयले जनाएको छ । अघि उनले बर्दियाको बबई पुल आसपासका मध्यवर्ती क्षेत्रका जनताको समस्या पनि सुनेका थिए।