यू-१९ एशिया कप : खेल जित्न नेपाललाई २६२ रनको लक्ष्य

२४ मंसिर,काठमाडौँ । यूएईमा जारी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा अफगानिस्तानले सबैभन्दा ठूलो स्कोर बनाएको छ।

नेपालविरुद्धको खेलमा अफगानिस्तानले अहिलेसम्मकै सबैभन्दा बढी रनको स्कोर बनाएको हो। दुबईको आईसीसी एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तान ४९ दशमलव ३ ओभरमा ९ विकेट गुमाउँदै २६१ रन बनायो।

नेपालले जितका लागि २६२ रन बनाउनु पर्नेछ।

अफगानिस्तानका लागि जमशीद जाडरानले विस्फोटक ब्याटिङ गर्दै शतकीय पारी खेले। १५२ बलको सामना गरेका उनले अविजित रहँदै सर्वाधिक १०६ रनको योगदान गरे।

नुमान शाहले ६० रन जोडे। रहिमुल्लाह जुर्मतीले ३५, वफीउल्लाह तराखिलले १५ तथा खलेल अहमदले १३ रन जोडे। बलिङतर्फ हेमन्त धामी, गुल्सझन झा र सुवाष भण्डारीले २/२ विकेट लिए। आकाश चन्द र दिपेश कँडेलले १/१ विकेट लिए।

यसअघि भएको खेलमा बङ्गलादेशले घरेलु टोली यूएईविरुद्ध बनाएको २२८ रन नै सबैभन्दा ठूलो स्कोर थियो।