बाँकेको राप्तीसोनारी गाउँपालिकामा प्रेस युनियनको अन्तरक्रिया

राप्ती सोनारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले दोश्रो कार्यकालको डेढ वर्षमा भएका उपलब्धी, सम्भावना र चुनौतिहरुको बारेमा जानकारी गराएका थिए ।

१८ मंसिर, कोहलपुर ।  बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाल प्रेस युनियन बाँकेले अन्तरक्रिया गरेको छ ।

आइतबार प्रेस युनियन बाँकेले राप्तीसोनारी गाउँपालिकाले हासिल गरेका उपलब्धी, सम्भावना र चुनौतीहरुको विषयमा अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा पालिकाले हासिल गरेका उपलब्धिका बिषयमा छलफल गरीएको थियो । स्थानीय तहले गरेको काम सँग स्थानीय जनतालाई जोड्दैं पालिकाले निर्माण गरेका योजनाहरुको कार्यन्वयनमा जोड दिईएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले बताए ।

अन्तरक्रियामा राप्ती सोनारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले दोश्रो कार्यकालको डेढ वर्षमा भएका उपलब्धी, सम्भावना र चुनौतिहरुको बारेमा जानकारी गराएका थिए । गाउँपालिकामा कृषि सहकारी शाखा र न्यायिक समिती दुईवटा शाखाहरु बिस्तार गरेको उनले बताए । ‘कृषि र पर्यटन बिकास रणनीति तयार गरिएको छ । भुमिमा भु–उपयोग योजना पारित गरिएको छ । राप्ती सोनारी गाउँपालिकाको आवधिक योजना छ । भवन मापदण्ड संहिता, सडक गुरु योजनासंगै औद्योगिक ग्रामको पनि स्थापना गरि यसरी विषयगत कामहरु भईरहेका छन् । राप्तीसोनारी गाउँपालिका प्रसुती गृह निर्माण र १५ सैय्याको सुबिधा सम्पन्न अस्पताल निर्माणको क्रममा छ । जसको संचालनपछी राप्ती सोनारी गाउँपालिकामा सहज स्वास्थ्य सेवा प्रवाह हुने छ ’ अध्यक्ष पौडेलले भने । राप्तीसोनारी गाउँपालिका बाँकेकै सबैभन्दा धेरै धान उत्पादन हुने पालिका भएकोले पालिकामा कृषि क्षेत्रमा गत वर्ष भन्दा यो वर्ष धेरै लगानी गरिएको पौडेलले बताए ।

शिक्षाको प्रशंगमा उनले भने, गाउँपालिकामा शिक्षक व्यवस्थापनमा कठिनाई भएको छ । साथै स्थानीय पाठ्यक्रम लागू भएको पहिलो पालिका राप्तीसोनारी गाउँपालिकामा नेपाली, सामाजिक, स्वास्थ्य जस्ता विषयका शिक्षक सजिलै पाउन सकिन्छ भने गणित र विज्ञान विषयका शिक्षक पाउन मुस्किल हुने गरेको पौडेलको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले आफू निर्वाचित भएर आईसकेपछि आफ्नो जिम्मेवारी तथा विकास निर्माणका कामहरु अगाडी बढाएको बताईन् । न्यायिक समिती संयोजक, सहकारी संयोजक अनुगमन संयोजक लगायत अन्य समूह तथा समितिमा आफ्नो जिम्मेवारी भएको र त्यही काम गरिरहेको उनले बताईन् । अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले भने विकासमा स्थानीय जनताको चेतनाको स्तरलाई माथि उठाउन जरुरी रहेको बताए ।

उनले भने, ‘हामीले मान्छेको विकास गर्न खोजिरहेका छौं, स्थानिय तहको विकास हुन मान्छेको बिकास हुनुपर्छ तर स्थानीय नागरिकहरू बाटो निर्माणको माग राख्नुहुन्छ । हाम्रो आफ्नै चरित्र हुन्छ जुन एक अर्कासंग मिल्न सकिरहेको हुँदैन । यसले गर्दा काममा असहज हुने गर्छ । अहिले पनि पालिकाको बजेट पुर्वाधारकै क्षेत्रमा खर्च भैरहेको छ ।’ तर पालिकाले सामाजिक क्षेत्रमा खर्च गर्नु पर्ने देखिएको देवकोटाले बताए ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृती ढकालको अध्यक्षतामा भएको अन्तरक्रियामा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, प्रशासकीय प्रमुख ओम प्रकाश देवकोटा लगायत विभिन्न शाखा प्रमुखहरु र प्रेस युनियन बाँकेका कार्यसमिति सदस्यसहितको उपस्थिति रहेको थियो । अन्तरक्रियालाई प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले सहजीकरण गरेका थिए ।