१४ असार ,काठमाण्डौ । आज हरिशयनी एकादशी आज तुलसीको विरुवा मोठमा सारने दिनको रुपमा मान्ने गरीन्छ ।
सनातन वैदिक परम्पराअनुसार एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा राखिएको दलको बिरुवा आज तुलसीको मोठमा सारिन्छ । तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।
तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ ।असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य डा देवमणि भट्टराइले बताए ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।
हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।
कोहलपुर खबर । १४ असार २०८०, बिहीबार ११:४६