फागुन २४ काठमाडौं / महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल प्रहरीका विभिन्न कार्यालयलाई विविध सामग्री सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले प्रहरी वृत्त मालीगाउँ र जिल्ला प्रहरी कार्यालय, टेकुलाई विभिन्न सामग्री सहयोग गरेको थियो ।
बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गले प्रहरी वृत्त मालीगाउँलाई चेकिङ बोर्ड, सामाजिक जनचेतनामूलक पुस्तिका, आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर र मास्क हस्तान्तरण गरेको छ ।
बैंकका निक्षेप बजारीकरण तथा कर्पोरेट सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र प्रहरी वृत्त मालीगाँउका वरिष्ठ नायब निरीक्षक वसन्त थापालाई सामाग्री हस्तान्तरण गरे ।
यस्तै बैंकको शंखमूल शाखाले प्रहरी कार्यालय, टेकुलाई फ्लोरेसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ । शाखाका प्रमुख पुण्य श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय, टेकुका प्रहरी उपरीक्षक सीताराम रिजाललाई उक्त सामग्री हस्तान्तरण गरे ।
सुरक्षा व्यवस्था थप मजबुत बनाउन र रात्रिकालीन समयमा प्रहरी चेकिङ गर्न सहयोग पुर्याउने उद्देश्यले सहयोग गरेको बैंकले जनाएको छ ।
कोहलपुर खबर । २४ फाल्गुन २०७९, बुधबार १४:२२