त्रिशुली दुर्घटना अपडेट : १३ जनाको शव भेटियो, बस अझै भेटिएन

 ३१ असार, काठमाडौं । बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता भएकामध्ये हालसम्म १३ जनाको शव भेटिएको छ ।

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार सोमबार दिउँसो २ बजेसम्म विभिन्न स्थानमा १३ जनाको शव भेटिएको हो । तीमध्ये ८ जनाको सनाखत भएको र पाँच जनाको बाँकी रहेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । सनाखत हुन बाँकी रहेकामा ४ पुरुष र एक महिला छन् ।

गत शुक्रबार बिहान ३ बजे वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा त्रिशुलीमा खसेका थिए ।

पछिल्लो अपडेट अनुसार एन्जल बसमा ३८ जना र गणपति डिलक्समा २७ जना गरी ६५ यात्रु रहेको प्रहरीको भनाइ छ ।

यो संख्या बसको चलानमा उल्लेख भएका र आफन्तहरु आएर दिएको विवरणका आधारमा अध्यावधिक गरिएको डिएसपी थापाले बताए । गणपति डिलक्समा सवार रौतहटका नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता गरी ३ जना पौडिएर बाँच्न सफल भएका थिए ।

बस अझै भेटिएन

शनिबार बिहान ८ बजेदेखि पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टमसहितका उपकरणले खोजी गरेपनि बस भेटिएको छैन ।

यस अघि दुर्घटना स्थल केन्द्रित भएर खोजी गरिएकोमा अब त्यो भन्दा तलका स्थानमा खोजी गर्न थालिएको प्रहरीले जनाएको छ । दुवै बससहित त्यसमा रहेका ५० भन्दा बढी यात्रुको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।