सरकारले देशभरका ५ लाख भूमिहीनलाई जग्गा दिने

१ जेठ, काठमाडौं ।  सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।

मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्ने गरी सरकारले काम गर्ने बताए । उनले सरकारले घोषणा गर्दै आएको भू–उपयोगसम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने बताए ।

उनले ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा पु¥याउनेदेखि राष्ट्रिय गौरवका सिंचाईं परियोजना निर्माणमा जोड दिने बताए । उनले सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाउने बताए । उनले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गरिने समेत बताए ।