दशैँको टीका लगाउने क्रम आज पनि

१० कार्तिक, कोहलपुर । आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ ।

शुक्रबार ५४ घडी १ पला चतुर्दशी तिथि रहेको छ। विजया दशमीपछि पाँच दिनमा पूर्णिमा आउनुपर्नेमा तिथिको घटबढका कारण चार दिनमै शनिवार कोजाग्रत पूर्णिमा पर्दैछ ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन् । टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ । यो क्रम पूर्णिमासम्म रहन्छ ।

आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ ।