कोहलपुर – रातो बत्ती बलेको देख्दादेख्दै सवारी साधन कुदायो भने के हुन्छ रु ट्राफिक प्रहरीले तत्कालै नियन्त्रणमा लिन्छ र सवारी नियम उल्लंघन गरेको भन्दै चिट् काट्छ ।
कहिलेकाहीं ट्राफिक बत्तीको उल्लंघन गर्दा ट्राफिकका जवानले बाटो छेकेर समेत चिट् काटेको दृश्य पनि देखिन्छ । उनीहरुलाई ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार ट्राफिक बत्तीले रोक्ने संकेत गरे पनि नरोकेको कसूरमा ५०० रुपैयाँ जरिवाना गराउँछ ।
यही गल्ती मुलुकका विशिष्ट व्यक्ति (भीआईपी) ले गरे के हुन्छ रु गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलको बुझाइमा विशिष्ट व्यक्तिलाई कुनै नियम कानुन भन्दा पनि प्राथमिकता दिनुपर्छ भन्ने मान्यताको आधारमा सहजीकरण गरिएको हो । यसबाहेक भीआईपीलाई के गर्ने भन्ने विषयमा कुनै मान्यता हुँदैन । कतिपय जानकारहरु भीआईपीले स्वाभाविक रुपमा प्राथमिकता पाउनुपर्छ भन्छन् । तर भीआईपी सवारीले ट्राफिक लाइटको अवज्ञा गर्दा कहिलेकाहीं ट्राफिक प्रहरीलाई झमेला पनि हुने गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार मुलुकका विशिष्ट व्यक्तिका सवारीको हकमा गृह मन्त्रालयबाट सूचना प्राप्त भए त्यो अवधिमा लाइटलाई बन्द गरिन्छ र आवतजावतलाई खुला पारिन्छ । तर नेपालका विशिष्ट व्यक्तिहरु विना सूचना ट्राफिक नियम उल्लंघन गर्दै हिंड्ने गरेको भेटिएको छ । नेपाल प्रहरीले नै गरेको एक अध्ययन अनुसार भदौ महिनामा मात्रै एक हजार २५९ पटक मुलुकका विशिष्ट व्यक्तिले ट्राफिक नियम उल्लंघन गरेका छन् ।
ट्राफिक महाशाखाले राखेको तथ्यांक अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले मात्रै एक महिनामा १८ स्थानमा ८५ पटक ट्राफिक नियमको उल्लंघन गरेको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ को सवारीले ९ स्थानमा १८ पटक ट्राफिक नियमको उल्लंघन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सवारीले उपत्यकाको २५ स्थानमा १६५ पटक सवारी नियमन उल्लंघन गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको सवारीले १७ स्थानमा १७२ पटक ट्राफिक लाइटको उल्लंघन गरेको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सवारी साधनले ३४ स्थानमा १२३ पटक ट्राफिक लाइट उल्लंघन गरेको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको सवारी साधानले ३४ स्थानमा १२३ पटक ट्राफिक लाइटसम्बन्धी नियम उल्लंघन गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको गाडीले उपत्यकामा ७८ स्थानमा २७४ पटक ट्राफिक लाइटसम्बन्धी नियम तोडेको छ । भदौ अन्तिमसम्म रहेका गृह सचिव टेकनारायण पाण्डेको सवारी साधनले पनि ३३ स्थानमा ७६ पटक सवराी नियम उल्लंघन गरेको छ । न्यायाधीशहरुका सवारी साधनहरुले २६ स्थानमा ८० पटक सवारी नियमको उल्लंघन गरेका छन् ।
अरु विशिष्ट व्यक्तिले यो अवधिमा ९७ स्थानमा १८० पटक सवारी नियम उल्लंघन गरेका छन् । जबकि, रातो बत्तीसम्बन्धी नियम उल्लंघन गरेको अभियोगमा पछिल्लो साउन र भदौको दुई महिना अवधिमा १२ हजार ३१४ जना सर्वसाधारण कारबाहीमा परेका छन् ।
Source- Online Khabar
कोहलपुर खबर । १३ आश्विन २०७९, बिहीबार ०६:५१